AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आईजीपी कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान

आईजीपी कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान

  • शनिबार, अशोज २०, २०८०
आईजीपी कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ ।

बेलायतमा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा आईजीपी कुँवरका साथै प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक द्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित रहेका छन् । महानिरीक्षक कुँवरसहित अधिकारीहरुले सो कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुनेछन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरे ।

नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिका विरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार