AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफः टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपर्यो

सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफः टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपर्यो

  • सोमवार, मंसिर १८, २०८०
सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफः टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपर्यो

काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ।

टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट निवेदनहरूको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको थियो। सञ्चार मन्त्रालयले १४ मंसिरमा लिखित जवाफ पठाउँदै टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको हो।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनिएको छ, ‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका सामग्री हटाउन नसक्नुको अलवा लाइभ भिडियोहरू रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको तत्कालीन अवस्थामा नियमन सम्भव नभएको स्थिति हो।’

विभिन्न सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले सन् २०१८ मा सान्टाक्लारा सिद्धान्त अनुमोदन गरेका थिए। सन् २०२२ मा परिमार्जन गरिएको उक्त सिद्धान्त अनुसार सामाजिक सञ्जाल सञ्चालक कम्पनीले प्रयोगकर्ताको मानव अधिकार सुनिश्चित गर्नुपर्छ।

सत्यतथ्य जाँचेर गलत र भ्रामक विषयवस्तु हटाउनुपर्ने लगायतका मान्यतालाई टिकटकले अनुमोदन नगरेको भन्दै सञ्चार मन्त्रालयले टिकटकलाई नियमन मात्रै गर्न सम्भव नभएको र प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था आएको दाबी गरेको हो।

टिकटकले प्रयोगकर्ताको रुचि अनुसारका भिडियोहरू आउने गरी एल्गोरिदम सेट गरेको हुनाले घण्टौँसम्म चलाउने लत बस्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुर असर पर्ने मन्त्रालयको दाबी छ।

मन्त्रालयले लिखित जवाफमा भनेको छ, ‘टिकटकको अत्यधिक प्रयोगले अनिन्द्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुको साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डोर्‍याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको स्थिति छ।’

Facebook Comments

सम्बन्धित समाचार