AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • निर्वाचन आयोगले मोरङका सीडीओलाई सोध्यो : दलहरुको कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन ?

निर्वाचन आयोगले मोरङका सीडीओलाई सोध्यो : दलहरुको कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन ?

  • बुधबार, माघ १०, २०८०
निर्वाचन आयोगले मोरङका सीडीओलाई सोध्यो : दलहरुको कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन ?

काठमाडौं-मौन अवधिको समयमा मोरङको विराटनगरमा राष्ट्रियसभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै निर्वाचन आयोगले प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ ।

आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचारप्रसारका गतिविधि भएको विषयमा मोरङका सीडीओलाई २४ घण्टे पत्र काटेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए–नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न पत्राचार गरिएको बताए ।

मौन अवधिका बिच पनि केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्य तथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ ।’

बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।

जसअनुसार उक्त अवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको पौडेलले जानकारी दिए ।

साथै, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सम्बन्धित सबैलाई निर्वाचन आचार संहिता पालना गर्न पनि अपिल गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार