काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । सोमबारको भएको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई जितका लागि १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।
कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए । सातौँ विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । सोमपालले १३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदै नट आउट रहे । ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा धवन हर्ष थाकरको बलमा बोल्ड आउट भए ।
कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा बोल्ड आउट भए । देवले ५ बलमा १ रन मात्र जोडे । चाल्डिक वाल्टनले १२ बलमा १ चौकाको सहयोगमा ८ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबिडब्लु धरापमा पारे ।
चौथो विकेटका रुपमा जिशान मक्सुद रनको खाता नखोल्दै जेम्स निशमको बलमा एलबिडब्लु धरापमा परे । बाबर हायतले २४ बलमा १२ रन बनाए । पाँचौ विकेटका रुपमा आउट भएका बाबर मोहम्मद मोहसिनको बलमा जिम्मि निशमबाट क्याच आउट भए । जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता कर्णाली याक्सले एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको छ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।