काठमाडौं-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा प्रमुख,उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेका छन् ।
धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।
निर्वाचनसम्बन्धी ऐनमा उक्त प्रस्ताव राखिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
प्रमुख आयुक्त थपलियाले भने,‘स्थानीय तहको मतपत्र छुट्टै भएन, अस्ति हामीले उपनिर्वाचननमा प्रयोग गरेर हेर्यौँ । त्यसमा हामी सफल भयौँ । अबको कानुनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ।’
उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताए ।
छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।