काठमाडौं-विगत १० वर्षदेखि हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु मच्चाउँदै आएका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका–१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी विगत १० वर्षदेखि चोरीमा संलग्न थिए । लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
पक्राउ परेका न्यौपानेको साथबाट प्रहरीले फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कु, तामा चरेसका विभिन्न ३४ थान भाडा, डिजिटल क्यामेरा ३ थानलगायत १३ थान हतियार बरामद गरेको जनाएको छ ।
त्यसैगरी न्यौपानेको साथबाट विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक–एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको पनि प्रहरीले जनाएको छ ।