काठमाडौं-हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहनुका साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविदको अनुमान छ ।