काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक बसिरहेको छ ।
सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि सभापति देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन् । देउवाले मन्त्रीहरुलाई सँगै राखेर असन्तुष्ट नेताहरुसँग छलफल गरेर साझा धारणा बनाउने कोसिस गरेका हुन्।
सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित थिए ।