काठमाडौं-भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलाको नेपालले निन्दा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।
ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्–‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’
यता, जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ ।
पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी गरिएको हत्याको घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंकी हर्कतको पाकिस्तानले सधैं घृणा गर्ने बताएका छन् ।
पाकिस्तानले पहलगाममा भएको आक्रमण भारतको ‘होम ग्रन’ हिंसा भन्दै भारतभित्रकै असन्तुष्ट विद्रोहीहरुले मच्चाएको हर्कत भनेको छ ।
स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् ।
उनले भने–भारतभित्र धेरै विद्रोहीहरू छन् । नागाल्याण्डदेखि काश्मिरसम्म,छत्तिसगढदेखि मनिपुर र दक्षिणतिर भारतकै विद्रोही र आतंकी संगठनहरु छन् । यो अपराधपूर्ण घटना बाह्य घुसपैठ नभएर उनीहरुकै घरेलु उत्पादनका उपज हुन् ।’
भारतले आफ्ना नागरिकमाथि विभिन्न ढंगले सेना प्रहरीमार्फत दमन गर्ने र ती नागरिकले विद्रोह गरेर उत्पन्न हुने घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप समेत उनले लगाए ।
रक्षामन्त्री आसिफले भनेका छन्–‘भारतमा मान्छेहरु अधिकारको लागि बोलिरहेका छन् । हिन्दूवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बुद्धिष्टलगायतका अल्पसंख्यकमाथि दमन र उत्पीडन बढाइरहेका छन् । यसको उपज हुन् यस्ता घटना ।’
पाकिस्तानी रक्षामन्त्रीले आफूहरू सबैखाले आतंकवादको विरोधमा रहेको तर भारतमा सिर्जित आतंकवादविरुद्ध केही गर्न नसक्ने बताए ।