काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको हो ।
प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।
तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो ।
हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा रहेका १०८ जनामध्ये ७४ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो गरेको अनुसन्धानले उनीहरुलाई मुद्दा चलाउनुपर्न रायसहित सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।