काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए । अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए । आज त्यसबारे छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाले बताए ।
यस्तै नेता रामकुमारी झाँक्री स्पष्टिकरणको विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन् । पार्टी अध्यक्षलाई इंगित गर्दै ‘सिनो बोकेर हिँड्न नसक्ने’ भनेपछि पार्टीभित्र उनको चर्को आलोचना भइरहेको छ ।