काठमाडौं-निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘कुलिङ पिरियड’ हटाउने नेकपा एमाले सांसदहरूको संशोधन प्रस्ताव नेपाली कांग्रेसको आन्तरिक बैठकमा प्रवेश गरेको छ ।
बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूले एमालेको कदम पार्टीबीचको सहमति विपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।
एमालेका राष्ट्रियसभा सदस्यहरूले विधेयकमा उल्लेखित दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेका छन् । तर कांग्रेस नेताहरूले यसलाई सैद्धान्तिक सहमतिविपरीतको कदम भन्दै असन्तोष व्यक्त गरेका छन् ।
बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहेको छ ।