काठमाडौं- लगातारको वर्षासँगै पहिरो खस्दा देशका दुई प्रमुख राजमार्ग—अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग—पूर्णरूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारीमा ठूलो पहिरो खस्दा अरनिको राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिबाट खसेको पहिरोले सडक पुरिएकाले यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको हो ।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी लोकमार्ग पनि माथिबाट खसेको पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सवारी आवागमन रोकिएको र बाटो खुलाउन डोजर प्रयोग गरेर प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ।