काठमाडौं-गृहमन्त्री रमेश लेखक रासपाका सभापति रवि लामिछानेलाई सबै कैदीबन्दीहरूले पाउने सरह सुविधा दिइएको बताएका छन् ।
आजको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।रुपन्देही कारागारमा रहेका लामिछानेलाई सबै कैदीबन्दीहरू सरहको सुविधा दिइएको उनले स्पष्ट पारे ।
कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि बताए ।
लेखकले भने- ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन ।’
उनले थपे- ‘अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जेस्टेड छन् । उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’
कैदीबन्दीलाई एकबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएकाले कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको समेत बताए ।