काठमाडौं-मुलुकमा बढ्दो अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ ।
सेनाले आज बेलुकी ५ बजेसम्म लागू हुने गरी कर्फ्यु घोषणा गरेको हो । सेनाले जारी गरेको विज्ञप्तिअनुसार कर्फ्यु भोलि बिहान ६ बजेसम्म निरन्तर रहनेछ। त्यसपछि परिस्थितिको समीक्षाअनुसार थप निर्णय गरिने जनाइएको छ ।
सेनाले भनेको छ, “आन्दोलनका नाममा तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा आपराधिक गतिविधि भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएको छ। त्यही कारण कर्फ्यु आदेश जारी गरिएको हो।”
कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ। अत्यावश्यक सेवामा बाधा नपरोस् भनेर नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले स्पष्ट पारेको छ।