AarthikBikash
बिहिबार, अशोज २, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

  • बिहिबार, अशोज २, २०८२
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग भर्चुअल माध्यमबाट वार्ता गरेकी हुन् ।

वार्ताक्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई ७५औँ जन्मदिनको शुभकामना दिँदै दीर्घायु, उत्तम स्वास्थ्य र सफल कार्यकालको कामना गरेकी छन् ।

उनले नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ र सदियौँ पुरानो सम्बन्धको स्मरण गर्दै छिमेकी राष्ट्रसँगको मित्रतापूर्ण सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक घटनाक्रमबारे भारतीय समकक्षीलाई जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई हार्दिक बधाई दिँदै असल छिमेकी र घनिष्ठ साझेदारको हैसियतले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । उनले आगामी दिनमा दुवै मुलुकबीच आपसी विश्वास, सम्मान र साझा हितका आधारमा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

छिमेकी दुई मुलुकका सरकार प्रमुखबीचको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्यका सम्भावना, साझा चासोका विषय र क्षेत्रीय सहयोगका मुद्दामा समेत विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार