काठमाडौं-जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु गरिएको छ । शनिबारदेखि आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको हो ।
यसै क्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए । उनले मन्त्रालयको भित्तामा क्षति नभए पनि स्ल्यावहरुमा पूर्णरुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए ।
आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।
त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे ।
बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सुझाव दिइने बताए ।