सर्लाही-सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा गएराति स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको MH–04–DJ–1297 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि सवार २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ। चौधरीको उपचारकै क्रममा राति ११:४५ बजे जनकपुरस्थित राम जानकी अस्पतालमा र सहनीको राति १०:२० बजे उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डित गम्भीर घाइते भएका छन्। उनको बायाँ हात र दुवै खुट्टामा चोट लागेका कारण थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको छ।
घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको डीएसपी सरोज कुमार राईले जानकारी दिए। दुर्घटनाग्रस्त स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकहरूको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।