जनकपुरधाम-मधेश प्रदेशको नयाँ सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।
बुधबार लोसपासहित पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।
सोनलको पद तथा गोपनियताको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुँदैछ।
बारा-४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।
सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एक एक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ ।
यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।
त्यसपछि बुधवार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।