काठमाडौं-नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनको कार्यसत्र ललितपुरको जावलाखेलस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार असोज २९ र ३० गते दुई दिन चलेको छलफलमा करिब २०० केन्द्रीय सदस्यले आफ्नो विचार प्रस्तुत गरिसकेका छन् । बाँकी सदस्य र पदाधिकारीहरूले आज प्रतिवेदनमाथि प्रतिक्रिया दिनेछन्।
गौतमले जानकारी दिएअनुसार आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी तहका ९९ नेताहरूले धारणा राख्नेछन्। प्रत्येक वक्तालाई तीन मिनेटको समय सीमित गरिएको छ।
सबै धारणा सुनेपछि अध्यक्ष ओलीले प्रतिवेदनमा आएका सुझावहरूको एकमुष्ट जवाफ र निर्देशन दिने तयारी गरेका छन्। त्यसपछि बैठक समापन गरिने बताइएको छ।