काठमाडौं-भदौ २३ गतेबाट शुरु भएको जेनजी आन्दोलन २४ गते विस्फोटक मोडमा पुगेपछि नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।
नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।
सेनाले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खटिएका र विभिन्न चौकीमा आक्रमणपछि ज्यान जोखिममा परेका २३ जना प्रहरीको पनि हेलिकप्टरबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
तोडफोड र आगजनी ६ देखि ८ घण्टामा नियन्त्रण गरेको दाबी गरेको नेपाली सेनाले भदौ २४ गते राति १० बजेपछि मुख्य चार काम गरेको जनाएको छ।
अति विशिष्ट तथा विशिष्ट व्यक्ति र परिवारहरुको सकुशल उद्धार, अत्यावश्यक सेवा तथा बस्तुहरुको प्रवाहमा महत्त्वपूर्ण योगदान तथा सहयोग र राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थमन्त्रालयको डाटा सेन्टरको आगजनीबाट सुरक्षा गरेको सेनाको भनाई छ ।
नेपाली सेनाले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।
आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ।
जेनजी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो।
काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।
त्योभन्दा ठूलो हताहती भदौ २४ गतेको विध्वंशक प्रदर्शनका क्रममा भएको थियो । भदौ २३ गते १९ जनाको ज्यान गएपछि भोलिपल्ट भएको विध्वंशक र हिंस्रक प्रदर्शनका क्रममा मात्रै ५७ जनाले ज्यान गुमाए ।
यसरी ज्यान गुमाउने निजी तथा सरकारी कार्यालय जलाउन पसेकाहरू पनि थिए । काठमाडौं र अन्य स्थानका भाटभटेनी जलाउन पुगेका मात्रै झन्डै दर्जन संख्यामा जले ।