काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् ।
आइतबार काठमाडौंको कोटेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जहाँ र जहिल्य भन्छ, त्यहाँ गएर बयान नदिने बताएका हुन् ।
कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन भन्दै सम्पादकहरुसँग उनले भने–‘केपी ओली सोझो छ भन्दैमा आयोगहरू जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको सन्दर्भमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ ।
उक्त आयोगले ओलीको राहदानीसमेत रोक्का राख्न पत्राचार गरिसकेको छ । ओलीलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।