काठमाडौं-राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले आफू सुध्रिन तयार भएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रसाईंले यस्तो बताएका हुन् ।
उनले भने- ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन । ल हिजो जे भयो भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं । अब यसमा सुध्रिन पर्नेछ ।’
अहिलेसम्म जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
साथै उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको बताए।
प्रसाईंले गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्रेर ल्याएको थियो ।
सो घटनापछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उनलाई उच्च अदालतले छाड्ने आदेश दिएको थियो । अहिले उनले कात्तिक १५ पछि पुन प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै दुर्गा प्रसाईंलाई वार्तामा बोलाएको छ ।