काठमाडौं– काठमाडौं उपत्यकाका फोहोर विसर्जन पुन: रोकिएको छ । उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि फोहोर विसर्जन पुन: रोकिएको हो । उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका २५० टिप गाडी बाटोमै रोकिएका छन् ।मंगलबार नै बञ्चरेडाँडा र सिसडोलका स्थानीयले पत्रकार सम्मेलन गर्दै सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर ढाँटेको भन्दै फोहोर बिसर्जन पुनः रोक्ने बताएका थिए ।
यसअघि पनि उनीहरूले विभिन्न माग राख्दै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन पाँच दिनदेखि रोकेका थिए।त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि कात्तिक १६ गते अवरोध हटेको थियो। १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुन: फोहोर विसर्जन रोक्न बाध्य भएको स्थानीयहरूको भनाइ छ । काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ भने अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ ।