काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलमा आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई जितका लागि १४३ रनको लक्ष्य दिएको छ । चितवनका सोहेल तनविरको घातक बलिङमा काठमाडौंले चितवन राइनोजलाई जितका लागि १४३ रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौं २ बल बाँकी छँदै १४२ रन बनाउँदा अलआउट भयो । चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौंले सम्मानजनक योगफल तयार पारेको थियो । तर, चितवनका रवि बोपाराले यी दुईको साझेदारी तोडेपछि काठमाडौंको लगातार विकेट पतन भयो ।
१६औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए । मिलिन्दले ४३ बलमा ५ चौका प्रहार गरे । १७औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमलसिंह ऐरिको बलमा सैफ जैवको हातबाट क्याच आउट भए । जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।
काठमाडौं एक समय ४.२ ओभरमा ३–२४ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए । काठमाडौंले ११ रन जोड्न ६ विकेट गुमायो । ओपनर वेन चाल्र्सवर्थ १४ बलमा २ चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए । सोहेलले १८औँ ओभरमा लगातार तीन विकेट लिएपछि काठमाडौंको ब्याटिङ लाइन धरापमा पर्यो । सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे । रन्जित कुमारले २ विकेट लिए । सैफ जैव र रवि बोपाराले समान एक विकेट लिए । चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चितवन तीन खेलबाट चार अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन प्लेअफको आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौंलाई प्लेअफ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रने छन् ।