काठमाडौं – निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति गगनकुमार थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।
त्यसपछि आज बिहान संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए ।
तर, आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।
केहिबेरअघि थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको थियो ।
अहिले देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेता कार्यकर्ता आयोग परिसरमा धर्ना दिन पुगेका छन्। दुवै पक्षले आयोगको मुख्य गेटमा नाराबाजी गरिरहेका छन् । एउटा पक्षले विशेष महाधिवेशनको विरोध गरिरहेको छ भने अर्को पक्षले देउवा पक्षको विरोध गरिरहेको छ ।
आयोगमा आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकताको आवतजावतले भिड बढेपछि सुरक्षा व्यवस्थाका लागि मुख्य गेट बन्द गरेर प्रहरी परिचालन गरिएको हो ।