काठमाडौं – सेयर बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३१.१२ अंकले बढेको थियो । मंगलबार नेप्सेमा कुल ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने नेप्सेमा ८ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज सबैभन्दा धेरै होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।
मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य धेरैले बढेको छ ।
सबैभन्दा धेरै घाटा भने एसबीएल डिबेन्चरका लगानीकर्ताले बेहोरेका छन् । यो धितोपत्रको मूल्य ४.२३ प्रतिशतले घटेको छ । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो, सामलिङ पावर सहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको देखिएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ ।
आज गुर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसअघि तोकिएको समयमा निर्वाचन हुने नहुने अनिश्चितता रहेको स्थिति थियो ।
तर, मंगलबार निर्वाचनका लागि उल्लासमय ढंगमा उम्मेदवार मनोनयन दर्ता चलिरहँदा बजारले पनि गति लिएको हो ।