ललितपुर-श्रीमती हत्या गरेपछि श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान श्रीमतीश्रीमान् दुबै जनाले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।
मदिरा पिएपछि दुईजना बीच विवाद हुँदा विनोद चिर्पटले हानेर कोपिलाको हत्या गरेका थिए ।
श्रीमतीको हत्यापछि विनोद ”मलाई पक्रनु मैले श्रीमती हत्या गरेँ ” भन्दै आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले खाटमा सुताएको अवस्थामा शव फेला पारेको छ ।
आरोपी विनाद पाख्रिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।