एजेन्सी – बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले इरानका क्षेप्यास्त्र अखडामाथि कारबाही गर्न अमेरिकाले बेलायती सैन्य आधार प्रयोग गर्ने अनुरोध स्वीकार गरिएको बताएका छन् । तर, उनले बेलायत प्रत्यक्ष आक्रमणमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री स्टारमरले सहयोगी राष्ट्रहरूको सामूहिक आत्मरक्षा र बेलायती नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको बताए।
उनले इरानले गलत रणनीति अपनाएको आरोप लगाउँदै बेलायतले अन्तर्राष्ट्रिय कानुनअनुसार मात्र कदम चाल्ने स्पष्ट गरे।
बीबीसीका अनुसार, अमेरिकाले ग्लुस्टरसायरस्थित आरएएफ फेयरफोर्ड र हिन्द महासागरस्थित डिएगो गार्सिया आधार प्रयोग गर्ने सम्भावना छ।
आरएएफ फेयरफोर्ड बेलायतको महत्वपूर्ण वायुसेना आधार हो, जहाँ अमेरिकी बमवर्षक विमानहरू समय–समयमा तैनाथ हुने गरेका छन्। रणनीतिक दृष्टिले यो आधार युरोप तथा मध्यपूर्व क्षेत्रमा कारबाहीका लागि उपयोगी मानिन्छ।
डिएगो गार्सिया हिन्द महासागरमा अवस्थित संयुक्त बेलायती–अमेरिकी सैन्य आधार हो। यसले मध्यपूर्व र दक्षिण एसिया क्षेत्रमा सैन्य गतिविधिका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमा स्टारमरले अमेरिकाले बेलायती आधारहरू ‘विशिष्ट र सीमित प्रतिरक्षात्मक उद्देश्य’ का लागि मात्र प्रयोग गर्ने आश्वासन दिएको बताए।
उनले प्रारम्भिक आक्रमणमा बेलायत संलग्न नभएको र हाल कुनै पनि आक्रामक कारबाहीमा सहभागी नहुने दोहोर्याए।