काठमाडौं – फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ।
चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ। बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ। नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ।
पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो। आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो। यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए।
मङ्गलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।
भोलिको चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्।
सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नांगो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। यसअघि गएको भदौ २२ गते राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो।