एजेन्सी – पश्चिम एशियामा जारी युद्धबीच सामाजिक सञ्जालमा फर्जी भिडियो फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा गरी ७ नेपाली पक्राउ परेका छन्।
बीबीसीका अनुसार यूएई, साउदीमा ३–३ जना र कुवेतमा १ गरी जम्मा ७ जना पक्राउ परेका हुन्।यद्यपि, आरोपीको पहिचान भने खुलाइएको छैन ।
यूएईको सरकारी समाचार एजेन्सी वामका अनुसार केही मानिसले सार्वजनिक गरेको भिडियोमा वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्दै गरेको वास्तविक फुटेज थियो भने अन्य क्लिपमा जमिनमा खसालिएका प्रोजेक्टाइल र घटना हेर्न जम्मा भएको भिड देखाइएको थियो ।
अनुसन्धानका क्रममा केही भिडियो एआईबाट बनाएको पत्ता लागेको छ, जसमा यूएईका अलगअलग इलाकामा विस्फोट, ठूलो मात्रामा आगो र प्रमुख भवनहरूमा हमलाका झुटा दृश्य रहेका छन् ।
पश्चिम एसियामा बढ्दो तनावबीच डिजिटल प्लेटफर्मको निगरानीका क्रममा उक्त कारबाही गरिएको हो । यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई १–२ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुन सक्ने बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले खाडीमा रहेका नेपालीलाई स्थानीय कानुन पालना गर्न र सामाजिक सञ्जालमा संवेदनशील सामग्री सेयर नगर्न बारम्बार आग्रह गरिरहेको छ ।
तर, दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन।
यसअघि आइतबार पनि यूएई र इरानबीच युद्धको फर्जी भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा एक नेपालीसहित १० पक्राउ परेका थिए ।