कैलाली – जिल्लाको कैलारी गाउँपालिका-५ बजैपुरमा गएराति ट्रकले ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए ।
घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको हो ।
ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरु पनि मरेका छन् ।
ट्रक चालकलाई नियन्त्रणमा लिएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।