कपिलवस्तु – कपिलवस्तुमा महाराजगञ्ज बजार क्षेत्र हुँदै बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा जारी छ ।
मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । झडपमा ३ जना घाइते भएका थिए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
कपिलवस्तु प्रशासनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० ९क० बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।
निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।
निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विवाद समाधान गर्न अहिले सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको छ ।