AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • राजनीति
  • अबका दिन केही कठिन हुनेछन्, नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्छः शंकर पोखरेल

अबका दिन केही कठिन हुनेछन्, नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्छः शंकर पोखरेल

  • बिहिबार, चैत्र १२, २०८२
अबका दिन केही कठिन हुनेछन्, नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्छः शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर प्रश्न उठाउँदै आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको पुष्टि भएको बताएका छन् ।

भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन मिडियाबाट सार्वजनिक भएपछि एमालेको तर्फबाट पहिलो प्रतिक्रिया आएको हो । महासचिव पोखरेलले आयोगको प्रतिवेदनले नै यसको निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गर्दै आयोग र आम निर्वाचन २०८२ दुवैलाई ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास’का रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार यही पृष्ठभूमिमा निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको हो, जसले नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ । उनले अबका दिन केही कठिन र चुनौतिपूर्ण हुने समेत बताएका छन् । पोखरेलले अल्गोरिदमको प्रयोगबाट ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रण’ हुँदै नयाँ शक्तिको उदय भएको टिप्पणी गरेका छने । उनले आगामी दिन सहज नहुने संकेत गर्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने बताएका छन् ।

यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने उनको धारणा छ । ‘जनताले प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्ने वातावरण बन्नु नै विवेकपूर्ण हुन्छ,’ उनले भने । तर, उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान नभएको स्पष्ट पार्दै विचारधारामा आधारित राजनीति नै स्थायित्वको आधार हुने जिकिर गरेका छन् ।

सम्बन्धित समाचार