काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बैठकमा उपसभामुख निर्वाचन लगायत अन्य विषयमा छलफल हुनेछ।
प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपाले आन्तरिक तयारी गर्न बैठक बोलाएको हो । आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उक्त पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले उम्मेदवारी दिएका छन् । रास्वपाले भने श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएको छ ।