एजेन्सी – पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरान बीच भएको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ । लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहँदा वार्ता निष्कर्षविहीन बनेको हो ।
वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकाका ‘रेड लाइन’ स्वीकार नगरेको स्पष्ट पारे।
‘हामीले लचिलोपन देखायौँ, समय खर्चियौँ, तर इरानी पक्ष सहमत हुन तयार भएन,’ उनले भने ।
भान्सका अनुसार अमेरिकाले आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव प्रस्तुत गरिसकेको छ र अब निर्णय इरानकै हातमा रहेको छ।
अमेरिकी प्रतिनिधिमण्डलमा जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए। अमेरिकी पक्षले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको दोहोर्याएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानले भविष्यमा कहिल्यै परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदिएसम्म कुनै सम्झौता सम्भव नहुने अडान राखेको छ ।