AarthikBikash
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेन भारत जाने चर्चाबीच हर्क साम्पाङ : सीमा अतिक्रमणबारे जोडदार आवाज उठाइयोस्

प्रधानमन्त्री बालेन भारत जाने चर्चाबीच हर्क साम्पाङ : सीमा अतिक्रमणबारे जोडदार आवाज उठाइयोस्

  • आइतवार, चैत्र २९, २०८२
प्रधानमन्त्री बालेन भारत जाने चर्चाबीच हर्क साम्पाङ : सीमा अतिक्रमणबारे जोडदार आवाज उठाइयोस्

काठमाडौं – भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सांसद हर्कराज राई (हर्क साम्पाङ)ले भारतबाट भइरहेको सीमा अतिक्रमणका विषयमा जोडदार आवाज उठाउन आग्रह गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सीमा अतिक्रमण बन्द गराउन र व्यापारिक प्रयोजनका लागि नेपाली भूमि प्रयोग गर्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

‘सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू१ तपाईंको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ। भ्रमण उपलब्धिमूलक रहोस् । महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा-लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्। यति भए पुग्छ अहिलेलाई,’ साम्पाङले फेसबुकमा लेखेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएपछि प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा छन्। यद्यपि भ्रमणको मिति तोक्न बाँकी नै छ।

द्विपक्षीय संयन्त्रमा छलफल गरेर उपयुक्त हुने गरी भ्रमणको मिति तय गरिने परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार