दाङ – नेपाली कांग्रेसले लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा आयोजना गरेको छ।
पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा चुनावी समीक्षा आयोजना गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहेको छ।
प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको अध्यक्षतामा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको काँग्रेस’ विषयमा अन्तरसंवादसमेत सञ्चालन भइरहेको सभापति पुनले बताएका छन्। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र कार्यशैलीबारे छलफल केन्द्रित गरिएको जनाइएको छ।
उम्मेदवारहरूले फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा आन्तरिक असहयोगका कारण परिणाम प्रभावित भएको विषय उठान गरेका छन्। चुनावमा अन्तरघात गर्नेहरूमाथि कारबाही गर्न कडा मागसमेत गरेका छन् ।
यसअघि कपिलवस्तु, पाल्पा र नवलपरासीलगायत जिल्लामा पार्टीभित्रका उम्मेदवारविरुद्ध काम गरेको आरोपमा केही नेताहरूलाई कारबाही गरिएको थियो।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा चुनावमा कांग्रेसबाट १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् । कुल ३८ सांसदसहित कांग्रेस प्रतिनिधि सभामा दोस्रो ठुलो दल बनेको छ ।