काठमाडौं – काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टि गरिएको छ ।
गत आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएको थियो ।
उपचारका क्रममा लामाको ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मंगलवार निधन भएको थियो ।
रामेछाप घर भएका हाल तारकेश्वर–७ स्थित फुटुङ बस्दै आएका प्रहरी निरीक्षक लामा त्यो दिन नेपालटारबाट फुटुङतर्फ जाँदै थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए ।
जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो ।
स्वयम्भूमा आयोजित दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका थिए । कार्यक्रममा पुगेर उनले लामाको शवसमेत बोकेका थिए ।