AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल आयल निगमको तर्क : कच्चा तेलको भन्दा प्रशोधितको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ

नेपाल आयल निगमको तर्क : कच्चा तेलको भन्दा प्रशोधितको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ

  • आइतवार, बैशाख ६, २०८३
नेपाल आयल निगमको तर्क : कच्चा तेलको भन्दा प्रशोधितको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ

काठमाडौं – नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली बजारमा पनि खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ ।

कच्चा तेलको मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी उपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरले क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको बताए ।

प्रवक्ता मनोज ठाकुरले भने- ‘नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको छ । क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ।’

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।

निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रूड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ ।

सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो विश्वमा जारी तनावका कारण यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।

निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ ।

निगमले यही वैशाख ३ गतेदेखि नेपालमा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु ५ वृद्धि गरेको थियो। निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २३६ रुपैयाँ र तेस्रो वर्गका लागि २३७ रुपैयाँ तोकेको छ ।

मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । जसकारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब  पाँच अर्ब ७५ करोड घाटा भइरहेको छ ।

सम्बन्धित समाचार