काठमाडौं – काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।
सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीले बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।
यसैबीच सरकारले राजधानीका वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ।
कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको छ। साथै शनिबार र आइतबारका लागि सरकारले नै खाद्य व्यवस्थापनको जिम्मा लिएको जनाइएको छ।