काभ्रे- लगातार वर्षा भएपछि काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो तथा दुर्घटनाको जोखिम बढेकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि राजमार्ग बन्द गरिएको हो। प्रहरीका अनुसार मौसममा सुधार भई सडक सुरक्षित भएको पुष्टि भएपछि मात्रै आवागमन पुनः सञ्चालन गरिनेछ । त्यसका लागि छुट्टै सूचना जारी गरिने बताइएको छ ।
‘मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछौँ,’ सूचनामा भनिएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द रहने भएकाले सतर्कता अपनाउन भनिएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
अहिले यसक्षेत्रमा चल्ने सवारीलाई मंगलटारमा रोकिएका छन्।
उक्त स्थानमा रोशी खोलामाथि अस्थायी ‘डाइभर्सन’ बनाएर सवारी सञ्चालन हुँदै आएको छ।
गत वर्ष असोजमा आएको बाढीले सो क्षेत्रमा सडक बगाएको थियो भने गएको चैतमा पनि बाढीका कारण सडक पुनः क्षतिग्रस्त भएको थियो । अहिलेको वर्षासँगै जोखिम बढेपछि सतर्कतास्वरूप राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ ।