AarthikBikash
शनिबार, बैशाख १२, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप लिग-२: यूएईमाथि नेपालको शानदार जित

विश्वकप लिग-२: यूएईमाथि नेपालको शानदार जित

  • शनिबार, बैशाख १२, २०८३
विश्वकप लिग-२: यूएईमाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ ।

२०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै सीमित भयो ।यूएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालको बलिङमा करण केसी उत्कृष्ट देखिए । उनले ४ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमै अलआउट भएको थियो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९० बलमा ७५ रन बनाए ।

उनलाई कुशल भुर्तेल ९२४०, बसिर अहमद ९२००, आरिफ शेख ९१५०, सोमपाल कामी ९१५० र करण केसी ९२२० ले साथ दिए । कप्तान रोहित पौडेलसहित शीर्षक्रमका केही ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।

यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए भने खुजाइम तनविरले २ तथा हैदर अली र मोहम्मद शाहदादले १–१ विकेट लिए ।

यस जितसँगै नेपालले लिग–२ मा चार खेलपछि पहिलो जित दर्ता गरेको छ । साथै यो १० महिनापछिको पहिलो जित र घरेलु मैदानमा दोस्रो जित हो । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

आठ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ । युएई समान खेलबाट १० अंकका साथ अन्तिममा छ । दुबै टोलीले १६ खेल खेल्न बाँकी छ ।

सम्बन्धित समाचार