AarthikBikash
बिहिबार, बैशाख २४, २०८३
  • होमपेज
  • राजनीति
  • बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

  • बिहिबार, बैशाख २४, २०८३
बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केहिदिन अघि शोभा पाठक नामकी युवती आफूलाई नेकपा एमालेका सचिव महेश बस्नेतले ‘रेप’ गरेको दाबी र सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।

सोही ठाउँमा गएर एमाले नेता बस्नेतकी पत्नी अम्बिका बस्नेतसहितको समूहले पाठकमाथि आक्रमण गरेको थियो । माइतीघरमा कुटाकुट परेपछि घटनास्थलबाट प्रहरीले शोभालाई अस्पताल पठाएको थियो भने अम्बिकालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।

पक्राउपश्चात् सुरुमा २ दिन म्याद थपिएको थियो । त्यसपछि एक दिन मात्र थपियो । पछिल्लो पटक गत वैशाख १७ मा फेरि ५ दिन थपिएको थियो ।

अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले  ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिल कार्यालय प्रतिवेदन अध्ययन गरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतले आज थुनछेक बहस गर्दै निजहरूलाई तारेखमा छोड्ने निर्णय गरेको हो ।

अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ भने गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सम्बन्धित समाचार