काठमाडौं – नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोद कुमार शर्माले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार औपचारिक रूपमा राजीनामा बुझाएको बताएका हुन् ।
शर्मा २०८२ साउन ९ गते सरकारले गठन गरेको तदर्थ समितिमार्फत रेडक्रस सोसाइटीको अध्यक्षमा नियुक्त भएका थिए । उनलाई सरकारले तीन वटा मुख्य कार्यादेशसहित जिम्मेवारी दिएको थियो ।
जसअनुसार नेपालको संविधान तथा अन्तर्राष्ट्रिय रेडक्रस महासंघको विधानअनुसार संस्थाको विधान संशोधन गर्ने, संशोधित विधानअनुसार निर्वाचन सम्पन्न गर्ने तथा समसामयिक समस्याको समाधान गर्ने जिम्मेवारी तोकिएको थियो ।
शर्माले आफूले पाएको कार्यादेशमध्ये दुई वटा जिम्मेवारी पूरा गरिसकेको बताएका छन् । उनले अनलाइन नेपाललाई बताए अनुसार विधान संशोधनको काम सम्पन्न भइसकेको छ भने संस्थाभित्र देखिएका विभिन्न समस्याको समाधानतर्फ पनि महत्वपूर्ण प्रगति भएको छ । हाल संशोधित विधानअनुसार निर्वाचन प्रक्रियाको तयारी भइरहेको थियो ।
तर, निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला सरकारले पुनः निर्वाचन रोक्न र विधान संशोधन गर्न निर्देशन दिएको भन्दै शर्मा असन्तुष्ट बनेका हुन् ।
उनले सरकारको पछिल्लो निर्देशनले संस्थालाई पुनः अन्योलतर्फ धकेल्ने अवस्था सिर्जना भएको निष्कर्षसहित पदबाट बाहिरिने निर्णय गरेको अनलाइन नेपाललाई बताए ।