काठमाडौं – कानुन दिवसको अवसरमा जनकपुरधाममा ‘न्यायिक महोत्सव’ सुरु भएको छ । उच्च अदालत जनकपुरले पहिलोपटक जनकपुरधाममा ‘न्यायिक महोत्सव’ आयोजना गरेको हो ।
आज विहानैदेखि विभिन्न कार्यक्रमसहित ‘न्यायिक महोत्सव’ सुरु भइरहेको छ । अदालतले न्याय प्रणालीलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ ।
महोत्सवअन्तर्गत विभिन्न अन्तर्क्रिया कार्यक्रम, सूचना तथा सेवामूलक स्टल, कानुनी प्रदर्शनी तथा न्यायाधीशसँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरिने अदालतले उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणका रूपमा सर्वसाधारण तथा कानुनका विद्यार्थीहरूले न्यायाधीशसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा न्यायाधीशहरूले कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान, अदालतका अनुभव र न्यायिक प्रक्रियाबारे जानकारी दिनेछन् ।
यस्तै, कानुन व्यवसायी र अदालतबीच समन्वय तथा न्यायिक सुधारका विषयमा छलफल हुने जनाइएको छ । स्थानीय तहका न्यायिक समिति र अदालतबीचको कार्यगत सम्बन्धबारे पनि विशेष अन्तर्क्रिया गरिने छ ।
महोत्सवमा विभिन्न कानुन क्याम्पसका शैक्षिक स्टल, सरकारी कार्यालयका सेवा तथा जानकारीमूलक स्टल, कानुनी पुस्तक प्रदर्शनी र न्यायिक प्रक्रियासम्बन्धी जानकारीमूलक प्रदर्शनीसमेत राखिनेछ ।