AarthikBikash
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिम प्रदेशको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

  • मङ्लबार, असार ९, २०८३
सुदूरपश्चिम प्रदेशको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बजेट संशोधन नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेटलाई लिएर असन्तुष्टी जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले बजेटमा आवश्यक संशोधन गर्न माग गरेको हो ।

एमाले सुदूरपश्चिमले सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष निकालेको छ ।

‘सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गर्दा संयुक्त सरकारको सहमति र नीति तथा कार्यक्रमअनुरूप नभई एकलौटी गर्न खोजिएकोप्रति असहमति प्रकट गर्दै बजेटमा आवश्यक संशोधन गर्न यो बैठक माग गर्दछ । प्रदेश कमिटीबाट सो विषयमा संसदीय दललाई निर्देशन दिने र संशोधन नगरिएमा संयुक्त सरकारमा सहभागी हुन नसक्ने समेत निर्णय गरिएको छ,’ प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश कार्यालय धनगढीमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकले बजेट विनियोजन प्रक्रिया एकलौटी ढंगले अघि बढाइएको समेत आरोप लगाएको छ ।

साथै बैठकले संघीय बजेटमा सुदूरपश्चिम, विपन्न वर्ग र दुर्गम क्षेत्रलाई बेवास्ता गरिएको आरोप लगाउँदै ती क्षेत्रका लागि थप कार्यक्रम र बजेट विनियोजन गर्न संघीय सरकारसँग माग गरेको छ ।

यता, एमाले संसदीय दलले पनि प्रदेश सभामा बजेटबारे संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । प्रदेश सभामा बजेट प्रस्तुत गरेको ९ दिन बितेपनि बजेट छलफलबारे कुनै प्रकृया अघि बढेको छैन ।

नेपाली कांग्रेसका नेता कमल शाहको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते मध्य राति प्रतिपक्ष दलको बहिस्कारबीच ३७ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचार