काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । प्रधानमन्त्री शाहलाई रास्वपासँग वार्ता गराउने र समझदारी गर्नमा प्रमुख भूमिका नै असिमले खेलेका थिए ।
यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए ।
प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।