AarthikBikash
सोमवार, असार २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

  • सोमवार, असार २९, २०८३
सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न उनले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले देशका प्रमुख सरकारी अस्पतालहरूमा बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना तत्काल अघि बढाउन आग्रह गरे। यसका लागि सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो।

नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपन्न, असहाय र आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सहुलियतपूर्ण रूपमा उपलब्ध गराउनुपर्ने नियम कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए।

बैठकमा प्रधानमन्त्री शाहले अस्पतालहरूको सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन स्वास्थ्य क्षेत्रका नेतृत्वलाई आग्रह गरे।

एउटा स्वास्थ्य संस्थाले विकास गरेका असल अभ्यासहरू अन्य संस्थाले पनि साझेदारी गर्नुपर्ने भन्दै उनले प्रतिष्ठानहरूको जग्गा अतिक्रमणको समस्या कानुनबमोजिम समाधान गर्न सरकारले पहल गर्ने प्रतिबद्धता जनाए।

छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन र अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। उनीहरूले जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि ध्यानाकर्षण गराए।

सम्बन्धित समाचार