AarthikBikash
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • राजनीति
  • डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली धनगढी जाने

डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली धनगढी जाने

  • शनिबार, साउन ९, २०८३
डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली धनगढी जाने

काठमाडौं – २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा विशेष चासो देखाएकी छन्।

मन्त्रालयका अनुसार मन्त्री मेहताले शनिबार सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोन संवाद गर्दै डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक व्यवस्थाबारे जानकारी लिएकी हुन्।

उनले उपचारलाई प्रभावकारी बनाउन र आवश्यक समन्वयमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएकी छन्।

मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गर्दै उपचारको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ। चिकित्सकहरूको सुझावअनुसार डा.केसीलाई लामो समय सेती प्रादेशिक अस्पतालमा राख्नु उपयुक्त नहुन सक्ने भएकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्था मिलाउने तयारीसमेत गरिएको मन्त्रालयको भनाइ छ।

बिहीबारदेखि पाँचबुँदे माग राख्दै आमरण अनशनमा बसेका डा। केसीको स्वास्थ्य अवस्था शनिबार थप जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको हो।

यसैबीच, डा। केसीले अघि सारेका मागबारे छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली शनिबार नै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार